काठमाडौं, मंसिर ७ (ई–रैवार)
प्रधानमन्त्री केपी ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले पार्टी चरम विवाद भइरहेका बेलामा चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा विवाद बढिरहेका बेलामा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासंग छलफल गरेको भोलीपल्ट चार सुरक्षा निकायका प्रमुखसंग छलफल थालेका हुन् ।
सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।
प्रधानमन्त्रीलाई भेटेलगत्तै गृहमन्त्रीसँग तीन आईजीपीको छलफल
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै तीन सुरक्षा निकायका प्रमुख गृह मन्त्रालय पुगे ।
प्रधानमन्त्री ओलीसँग भेटेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।
मन्त्रालयमा दिउँसो ३ बजे भएको बैठकमा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको बादलको सचिवालय स्रोतले जनायो ।
पहिले गृह मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई हाल प्रधानमन्त्री ओलीले आफू मातहत लगेका छन् । त्यसयता अधिकारीले प्रधानमन्त्रीलाई नै सिधै रिपोर्टिङ गर्दै आएका छन् । तर, उनी आइतबार गृहमा भएको सुरक्षा बैठकमा सहभागी भएका थिए ।
यसअघि प्रधानमन्त्रीसँगको भेटमा तीन सुरक्षा निकायका प्रमुखसहित प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सहभागी थिए ।


