काठमाडौँ, फागुन २८ (ई-रैवार)
वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । बीबीसी नेपाली सेवामा लामो समय काम गरेका पत्रकार शर्माको शुक्रबार निधन भएको हो ।
चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेटमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । शर्माले बीबीसी नेपाली सेवाबाट अवकाश लिएपछि विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका थिए ।
वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले शोक वक्तव्य जारी गरेर शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले शर्माको निधनबाट पत्रिकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
“वरिष्ठ पत्रकार सुशील शर्माको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । स्वर्गीय शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु,” उनले भनेका छन्, “उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”


