नेकपामा चलखेल सुरु : विवादको मध्यस्थतामा राष्ट्रपति, चिनियाँ राजदूत यान्छी सक्रिय

नेकपामा चलखेल सुरु : विवादको मध्यस्थतामा राष्ट्रपति, चिनियाँ राजदूत यान्छी सक्रिय
Spread the love

काठमाडौं, मंसिर ३ (ई–रैवार)

फुटनजिक पुगेको भनिएको नेकपा विवाद मत्थर पार्न फेरि चिनियाँ राजदूत सक्रिय भएकी छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनयाँ राजदूत होउ यान्छीले विगतमा झैँ फेरि सक्रियता बढाएकी हुन ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री  ओलीलाई बालुवाटारमा भेटेकी छन् । राति आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको यान्छीले दुई घण्टा ओलीसँग भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ ।

भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएलगत्तै उक्त सन्देश लिएर प्रधानमन्त्री ओली राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

चिनियाँ राजदूतसंगको भेटघाट सकिएलगत्तै प्रधानमन्त्री रास्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन्।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबैबाट हट्नु पर्ने आशयसहितको राजनीतिक दस्तावेज नै सचिवालय बैठकमा पेस भएपछि चिनियाँ राजदूत यान्छीले फेरि सक्रियता जनाएकी हुन् ।

यसअघि विवाद उत्कर्षमा पुग्दा पनि ओलीको राजीनामा  मागिएको थियो । त्यसबेला पनि यान्छी सक्रिय भएकी थिइन् । १७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । त्यसबेला राजदूत यान्छीले राष्ट्रपति भण्डारी, ओली, प्रचण्ड, खनाल र नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

१८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् । असार तेस्रो साता पनि नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि यान्छीले ओली, प्रचण्ड, नेपाल र खनाललाई भेटेकी थिइन् । ती भेटवार्तामा यान्छीले दबाब दिएपछि प्रचण्ड र नेपालले ओलीको राजीनामा लगायतका एजेण्डा स्थगित गरेका थिए ।

मध्यरात राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक नजिकिँदै जाँदा चलखेल सुरु भएको छ । विदेशी शक्ति केन्द्रदेखि, राष्ट्रपति विद्यादेवी भण्डारीसम्म एक साथ सक्रिय भएकी छन् ।

अध्यादेश प्रकरणका वेला एकाएक सक्रिय भएकी नेपालका लागि चिनियाँ राजदूत चिहोउ यान्छी पछिल्लो समय मौनप्रायः थिइन् । साउनमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा एकाध बाहेक अरू नेतासँग भेटघाट बढाएकी थिइनन् । यसपटक भने सक्रियता बढाएको नेकपा स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मङ्गलबार राति राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच शीतल निवासमा भेटवार्ता भएको छ । राजदूत यान्छीले पार्टीभित्रको पछिल्लो विवादबारे चासो राखेको स्रोतले जानकारी दिएको छ ।

मङ्गलबारै राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष प्रचण्डसँग लामो भेटवार्ता गरेकी थिइन् । करिब साँझ ६ बजेबाट सुरु भएको भेटवार्ता ८ बजे रातिसम्म चलेको थियो । राष्ट्रपति भण्डारीले प्रचण्डलाई दबाब नै दिएर केही त भनिनन् । तर, अहिलेको सङ्कटको निकास दुई अध्यक्षको मिलनमै रहेको उनको प्रष्ट सन्देश थियो । सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिने र ओलीसँग सहकार्य गरेर जान उनले सुझाव दिएकी थिइन् । अध्यक्ष प्रचण्डले दुई घण्ठा मौन नै बसेर बिताएको स्रोतको दाबी  छ ।

प्रचण्ड शीतल निवासबाट बाहिरिएलगत्तै राजदूत यान्छीको प्रवेश भएको थियो । उनले पनि झण्डै दुई घण्टा राष्ट्रपति भण्डारीसँग छलफल गरेको नेकपाका नेताहरूले बताएका छन् ।

यान्छीको बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास प्रवेश गरेका थिए । राष्ट्रपति र भण्डारीबीच शनिबार साँझ पनि भेटवार्ता भएको थियो । पछिल्लो सङ्कटको निकासका लागि प्रधानमन्त्री ओलीले विकल्पबारे छलफल गरेको स्रोतको जिकिर छ । बुधबारको छलफल पनि त्यसैको निरन्तरता भएको स्रोत बताउँछ ।

नेकपानिकट नेताहरूले दिएको जानकारी अनुसार अध्यादेश ल्याएर पार्टी विभाजन गर्नेमा राष्ट्रपति सहमत छैनन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई मनाएर अहिलेको सङ्कटबाट पार पाउनुपर्ने उपाय सुझाएको स्रोतको दाबी छ ।

पूर्वमाओवादी केन्द्रका नेताहरू पनि दुई अध्यक्ष मिलाउन दौडधुप सुरु गरेका छन् । मध्यधारका नेताहरू खासगरी यसमा सक्रिय छन् । हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी लगायत नेताहरूले दुईतिर संवाद बढाएका छन् । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डलाई भेटेरै सुझाव दिएका छन् ।

बुधबारको बैठक के होला ?

नेकपाभित्र विवाद झाँगिँदै जाँदा बुधबारका लागि तय भएको बैठक अन्यौलपूर्ण बनेको छ । बैठक के गर्ने भन्ने विषयमा ओली पक्ष नै एकमत हुन सकेको छैन । मङ्गलबार दिनभरजसो बालुवाटारमा ओली पक्ष छलफलमा जुटेको थियो । छलफलमा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत नेताहरू सहभागी थिए । उनले पनि सामूहिक निष्कर्ष दिन सकेनन् । सुवास नेम्वाङ लगायत नेताहरूले दुई अध्यक्षबीच सहमति गरेर मात्रै बैठक अघि बढाउन सुझाव दिए । पृथ्वी सुब्बा गुरूङले बैठकमै प्रधानमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने र बैठक छल्न चाहेको सन्देश दिन नहुनेमा जोड दिएका थिए ।

महासचिव विष्णु पौडेलले मङ्गलबार नै खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई बैठक स्थगित गरेर ओलीसँग संवादमा बस्न आग्रह गरेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने बुधबारको बैठक स्थगित हुने सम्भावना रहेको बताए । मङ्गलबार मध्यरात बाह्रखरीसँग कुरा गर्दै उनले भने, “भोलिको बैठक कसरी बस्ला र ? पार्टी अध्यक्षको प्रस्तावमाथि छलफल हुन सक्दैन । महासचिवले पनि कुनै जानकारी गराउनुभएको छैन ।”

यता बहुमत समूह कुनै हालतमा बुधबारको बैठक रोक्न नहुने अडानमा छ । पार्टीभित्रको विवाद पेचिलो बन्दै जाँदा माधव नेपालले पनि छलफललाई तीव्र बनाएका छन् । मङ्गलबार उनले पनि आफू पक्षका नेताहरूसँग छलफल गरे । नेता नेपालले अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायत नेताहरूसँग छलफल गरेको स्रोतको जिकिर छ ।