सरकारलाई जनमोर्चाको प्रश्न- हाम्रो सांसदलाई अस्पतालमा किन बन्दी बनाइयो ?

सरकारलाई जनमोर्चाको प्रश्न- हाम्रो सांसदलाई अस्पतालमा किन बन्दी बनाइयो ?
Spread the love

पोखरा, वैशाख १६ (ई-रैवार)

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। गण्डकी प्रदेशका आफ्ना सांसद शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाले सरकारसँग माग गरेको हो ।

राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा भएको शाहीको अनुपस्थितिलाई रहस्यमय भनेको छ । पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

‘उहाँलाई एक प्रकारको बन्दीका रूपमा किन राखियो र त्यसको कारण के होरु,’ उनले भनेकी छन्। सरकारी प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आए पनि शाहीलाई कोरोना पोजेटिभ भनेर अस्पताल राखिएको जनमोर्चाको भनाइ छ। शाहीलाई कसरी कोरोना पोजेटिभ देखिएको हो भन्नेबारे पार्टीले भन्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ?, उनको प्रश्न छ ।

जनमोर्चाले गण्डकी प्रदेशको संसदको गतिविधिलाई अस्वाभाविक रुपमा लिएको भन्दै जनमोर्चाले संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि जानकारी दिने उपाध्यक्ष पौडेलले बताएकी छन् ।

गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेको उल्लेख गर्दै पौडेलले मतदानको दौरानमा भएका घटनाप्रति आश्चर्य र दुःख लागेको जनाएकी छन् ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा सांसद शाही सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । पछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको थाहा भएको थियो ।

गण्डकी प्रदेशमा बुधबार मतदानको तयारी हुँदै गर्दा राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको स्थिति अज्ञात भएको भन्दै उनी उपस्थित नहुँदासम्म अविश्वास प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न माग गरेकी थिइन् । त्यसैको आधारमा सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशसभाको बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका थिए ।