कञ्चनपुर, कार्तिक २३ (ई-रैवार)
कञ्चनपुरमा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले पारसमणि जोशी, केदार विष्ट दीपक भट्टलाई एकथान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट रहेका छन् ।
वेदकोट नगरपालिका ५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहोराको घरनजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७–८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र तीनथान मोबाइल लुटी फरार भएका थिए ।
सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
उक्त घटनामा प्रयोग भएको से।६प २२६३ नम्बरको मोटरसाइकल र दुईथान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले एकथान म्याग्जिन र दुई राउन्ड गोली फेला पारेको थियो ।
सांकेतिक तस्बिर


