कांग्रेस शीर्ष नेताको बैठक आज बस्दै, केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने

कांग्रेस शीर्ष नेताको बैठक आज बस्दै, केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने
Spread the love

काठमाडौं, कार्तिक १७ (ई-रैवार)

कांग्रेस सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताको बैठक डाकेका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्‍ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुने जनाइएको छ।

पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। देउवापक्ष पूर्वनिर्णयबाट पछि हट्ने देखिएको छैन।

केन्द्रीय समिति बैठकअघि आफ्ना माग सम्बोधन हुनुपर्ने पौडेल पक्षको भनाइ छ। असोज १२ मा बुझाइएको ज्ञापनपत्रमा सभापतिलाई निर्णय सच्याउन एक साताको समय दिइएको थियो। असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न सकेको थिएन। त्यसैदिन ६ केन्द्रीय सदस्यलाई कोरोनाको पुष्टि भएपछि असोज १९ को बैठक रोकिएको थियो। शीर्ष तहका नेताको बैठक पनि अवरुद्ध भएको थियो।

कार्तिक २१ गते बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरि समाधान निकाल्न देउवाले पुनः शीर्ष नेताको बैठक बोलाएका हुन्। पौडेल पक्षले केन्द्रीय समितिको बैठकअघि आफ्ना माग सम्वोधन हुनुपर्ने अडान लिएको छ।

सभापति देउवाले बढाएका विभागप्रति पौडेल पक्षको तीव्र असन्तुष्टि छ। पौडेल पक्षले असन्तुष्टि जनाए पनि देउवाले २० विभागका प्रमुख तथा सदस्य तोकिसकेका छन्। विधानविपरीत संख्या बढाइएको पौडेल पक्षको भनाइ छ। विभाग गठन समयमा हुन नसक्नुमा पौडेल पक्षकै असहयोग कारण रहेको संस्थापन पक्षको दाबी छ।