काठमाडौं, असार ३० (ई–रैवार)
नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ । मंगलबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा अन्तिम पटक सम्बोधन गर्ने कार्यक्रले बैठक स्थगित भएको थियो ।
मंगलबार नै बस्ने भनिएको बैठक अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले स्थगित भएको थियो । आजको बैठकको स्थान र समय निर्धारण भइनसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्रोतका अनुसार स्थायी कमिटीको बैठक पछि आजै केन्दीय कमिटी बस्ने सम्भावना रहेको जनाएको थियो। ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएकाले बैठक बस्ने सम्भावना कम रहेको तामाङले बताएका छन् । तथापि भ्याइएको खण्डमा आजै बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने उनले बताए ।
बैठकमा पार्टी एकताका लागि कार्यादलमा भएको १० बुँदे सहमति अनुमोदन गर्ने यसअघि बताइए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली रुष्ट छन् ।
यसअघि सर्वोच्चको फैसला आउनु अघिल्लो दिन राती नै विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।
उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।
यसैबीच एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवाश कोटेश्वर पुगेका छन्। स्रोतका अनुसार गौतम नेपाललाई भेट्न नेपाल निवाश कोटेश्वर पुगेका हुन् ।
एमाले एकतालाई लिएर अहिले छलफलमा व्यस्त छन्। उनीहरुबीच पार्टीमा उत्पन्न पछिल्लो संकट र निरुपणका उपायबारे छलफल भइरहेको स्रोतको भनाइ छ।
नेपालले संसद पुनस्स्थापनाको अडान लिएको र सर्वोच्चले पनि संसद पुनःस्थापना गरेको अवस्थामा नेपालसँग रुष्ट पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बाटो कस्तो हुन्छ त्यसबारे अड्कलबाजी तीव्र भएका बेला पछिल्लो पटक ओलीलाई साथ दिएका गौतम नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
त्यसअघि आजै नेता नेपाललाई माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट गरेका थिए। यसैबीच ओलीले हिजो स्थगित गरेको बैठक आज कुनै पनि बेला बोलाउने तयारी गरेका छन्। हिजो नेपाल सहभागी नहुने भनेपछि ओलीले बैठक स्थगित गरेका थिए।


