बाढिपहिरो र डुवानबाट पीडितलाई ५ लाखसम्म उपलब्ध गराउने सरकारको निर्णय

Spread the love

काठमाडौं, कार्तिक ३ (ई-रैवार) 

सरकारले अविरल बर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढि, पहिरो र डुवानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपुर्ति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको  बैठकले अविरल बर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढि, पहिरो र डुवानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपुर्ति दिने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री बालकृष्ण खाँणले परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको पनि मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको बताए । घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

प्राकृतिक विपत्तिमा घाइते भएका तथा फसेका मानिसको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टरले मात्र नपुगे निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय भएको उनले बताए ।

सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री खाँणले जानकारी दिएका छन ।

घर निर्माणका लागि जग्गाको अभाव हुनेका लाई थप ३ लाख पनि उपलब्ध गराइने सरकारले जनाएको छ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

किसानका बालीको क्षतिको आकलन र तथ्यांक संकलन गर्ने निर्णय पनि भएको छ । यस्तै, राजमार्गको अवरोध खोल्ने, अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका थिए।

सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका थिए भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।

गत शनिबारदेखि परेको पानीले देशका विभिन्न भागमा जनधनको क्षति भएको छ।