काठमाडौं, कार्तिक १५ (ई-रैवार)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच करिब ११ दिनपछि शनिबार भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन ओलीलाई दबाब दिएको स्रोतले बताएको छ ।
भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । स्रोतका अनुसार आजको छलफलमा समसामयिक विषयवस्तु छलफल भएको छ । भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।
यी विषयलाई सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने माग प्रचण्डले गरेका हुन् । सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
उनले भने, “सचिवालय बैठक फेसनका लागि होइन । आवश्यकताका लागि बस्ने हो । अहिले कोरोना महामारी थप बढ्दै गएको छ । सचिवालय बैठक आवश्यकता अनुसार बस्नका लागि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्छ ।”
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायकाजी श्रेष्ठले दुबै अध्यक्षलाई सचिवालय बैठक बोलाउनका लागि लिखित पत्र नै बुझाएका छन् ।


