एजेन्सी, कार्तिक १४ (ई-रैवार)
इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।
पन्जाब १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भएमा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बन्ने छ । पन्जाब आजको खेलमा पराजित भए अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ ।
राजस्थान आजको खेलमा विजयी भएमा अघिल्लो चरणको झिनो आशा कायमै रहने छ । पराजित भए लिग चरणबाट बाहिरिने दोस्रो टोली बन्ने छ । चेन्नई सुपर किंग्स बाहिरि सकेको छ । यसअघि लिग चरणको पहिलो खेलमा पन्जाब राजस्थानसँग ४ विकेटले पराजित भएको थियो । पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा तीन बल अगाडि पूरा गरेको थियो ।
पन्जाब पछिल्ला पाँच खेलमा अपराजित छ । पन्जाब लगातार छैटौं जितका साथ प्ले अफ बलियो बनाउन चाहन्छ । पन्जाबले पछिल्लो खेलमा कोलकतालाई ८ विकेटले हराएको थियो । उक्त खेलमा क्रिस गेल र मनदीप सिंहले अर्धशतकीय इनिङ खेलेका थिए ।
जारी सिजनमा गेलले खेलेका पाँच खेलमा पन्जाबले हार बेहोर्नु परेको छैन । गेल राम्रो लयमा छन् । गेलको प्रर्दशन पन्जाबलाई निकै महत्वपूर्ण हुने छ । घाइते भएका ओपनर मयंक अग्रवाल टोलीमा फर्किएको खण्डमा पन्जाबको ब्याटिङ युनिट थप मजबुत बन्ने छ । अग्रवालले जारी सिजनमा लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । कप्तान तथा ओपनर लोकेश राहुल उत्कृष्ट लयमा छन् । उनको लयलाई रोक्न राजस्थानका बलरलाई कठिन पर्ने छ ।
ग्लेन म्याक्सवेलको कमजोर लय पन्जाबलाई चिन्ताको विषय हो । निकोलस पुरन पनि राम्रो लयमा छन् । पन्जाबको शीर्षक्रम ब्याटिङ उत्कृष्ट र लयमा हुँदा राजस्थानमाथि हाबी हुन सक्छन् । बलिङमा तीव्र गतिका बलर मोहम्मद शामी राम्रो लयमा छन् । नियमित उच्च प्रर्दशन गर्दै आएका शामी पन्जाबका बलिङ हतियार हुन् । शामीलाई अर्शदीप सिंह र रबि बिश्रोईले पनि राम्रो साथ दिदै आएका छन् ।
पछिल्लो खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले हराएको थियो । उक्त खेलमा ओपनर बेन स्टोक्सले शतक र युवा ब्याट्सम्यान सन्जु स्यामसनले अर्ध शतक प्रहार गरेका थिए । स्टोक्स र स्यामसनको लय फर्किनु राजस्थानलाई सकरात्मक पक्ष हो ।
रोबिन उथप्पा, जस बटलर र स्टिभ स्मिथलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्टोक्स र स्यामसनलाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ । राजस्थानका अन्य बलरलाई जोफ्रा आर्चरलाई राम्रो साथ दिन आवश्यक देखिन्छ । आर्चरले लगातार राम्रो प्रर्दशन गरि रहँदा अन्य बलरको साथ पाउन सकि रहेका छैनन् ।
यसअघि लिग चरणको खेलमा पन्जाबविरुद्ध अविश्वसनिय प्रर्दशन गरेका राहुल टेवाटियाबाट राजस्थान त्यस्तै प्रर्दशनको अपेक्षा राख्ने छ । उथप्पाको स्थानमा युवा ब्याट्सम्यान यशस्वी जैसवाललाई मौका दिन सक्छ । आइपिएलमा यी दुई टोलीबीच कुल २० खेल भएको छ । जसमा राजस्थान ११ खेलमा विजयी हुँदा ९ खेलमा पराजित हुन पुगेको छ ।


