बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने
Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style
Spread the love

बैतडी, असोज २७ (ई-रैवार)

बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ। सङ्घीय सरकारले जिल्लाका ६ वटा स्वास्थ्य चौकीलाई १५ शैया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

पुर्चौंडी नगरपालिका–३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।यसका लागि सङ्घीय सरकारले रु एक करोड वजेट विनियोजन गरेर पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ ।

यस्तै सूर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीलाई १० शैयाको अस्पतालमा स्तरोन्नति गरिने बताइएको छ ।

यसका लागि सम्बन्धित स्थानीय तहमा  ८५ लाखका दरले बजेट पठाइएको जनाइएको छ। स्थानीयस्तरमै अस्पतालको सेवा प्राप्तिमा सहज होस् भनेर स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यचौकीलाई अस्पातलमा स्तरोन्नति गर्ने कार्य यसै वर्षबाट सुरु हुने जनाइएको छ। सम्बन्धित स्थानीय तहहरुले स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउने छन् ।

रासस