काठमाडौँ, साउन २५ (ई-रैवार)
नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी र केन्द्रीय कमिटीको बैठक आह्वान गरेका हुन् ।
अध्यक्ष ओलीले सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ ।
स्थायी कमिटी बैठक पछि आजै दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।
बैठकमा एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायत विषयमा छलफल हुनेछ । एमाले विधान संशोधन दस्तावेज आज सुरुमा बस्ने स्थायी कमिटीमा पेश हुने र स्थायी कमिटीले अनुमोदन गरेपछि उक्त विधान संशोधन केन्द्रीय समिटीमा पेश गर्ने कार्यसूचि रहेको एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।
बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।
त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने तामाङको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्छ । अनि छलफलको लागि ओपन गर्छौं । हाम्रा मातहतका कमिटी, जनसंगठनहरूमा छलफल हुन्छ ।’
विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ । यस्तै विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ ।
एमाले लामो समयदेखि आन्तरिक विवादमा छ । आन्तरिक विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजनको संघारमा छ । झलनाथ खनाल र माधव नेपालले एमालेको एउटा पक्षको नेतृत्त्व गरेका छन् भने केपी शर्मा ओलीले अर्को पक्षको नेतृत्त्व गरेका छन् ।
एमालेको माधव नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ । तामाङले भने एकताको प्रयास र पार्टीको सांगठनिक गतिविधि नरोकिने बताए । उनले भने, ‘हामी निरन्तर संवादमै छौं । उहाँहरुलाई पार्टीमा सहभागी गराउन लागि गरिने प्रयत्न पनि रोकिँदैन र पार्टीको गतिविधि पनि रोकिँदैन ।’
पार्टी विभाजनको संघारमा पुगेर समानान्तर कमिटी खडा गरिए पछि एकताका लागि भन्दै विवाद समाधान कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले सहमतिका लागि १० बुँदे प्रस्ताव गरे पनि माधव नेपाल उक्त प्रस्तावमा विश्वास गरेर अगाडि बड्न नसकिने बताउँदै आएका छन् ।
केही महिना यता एमालेका दुई समूहका छुट्टाछुट्टै बैठक बस्दै आएका छन् ।


