धनगढी, जेठ ५ (ई-रैवार)
कैलालीमा शव व्यवस्थापनमा नेपाली सेनाको महिला सैनिकलाई खटिएको छ। भवानी दल गणले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि महिला सैनिकलाई खटिएको हो ।
धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाएको जनाएको छ ।
भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिएका छन् ।
शव व्यवस्थापनका लागि तालिम प्राप्त महिला सैनिक खटाइएको भवानी दल गणका गणपति तथा प्रमुख सेनानी केसीले बताए। ‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले भने, ‘आजदेखि परिचालन गरेका छौँ ।अब उहाँहरुले महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्नेछन् ।’
‘१०/१५ जना गरेर हामीले तीन वटा टोली परिचालन गरेका थियौँ, ’ केसीले भने, ‘आजदेखि चार टोली भएका छन् । आवश्यकताका आधारमा थपघट गर्छौं ।’
नेपाली सेनाको भवानी दल गणबाट कोरोना संक्रमितको शव व्यवस्थापनका लागि सैनिक पुरुषका ३ वटा टोली परिचालन गरिएका थिए । यस अघि नेपाली सेनाको पुरुष सैनिकले मात्रै सव व्यवस्थापन गर्दै आईरहेको थियो ।


