एजेन्सी, असोज १० (ई–रैवार)
युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।
मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वायुसेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बिबिसीले जनाएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको जीवितै उद्धार गरिएको छ ।
दुर्घटनामा परेको विमानमा आगो लागेको थियो जसलाई केहीबेरमा नियन्त्रणमा लिइएको थियो । विमानमा सवार तीन जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।
खार्किभका क्षेत्रीय गभर्नर ओलेक्सी कुचेरका अनुसार प्रारम्भिक सूचनामा एक जना पाइलटले दुर्घटना हुनुभन्दा केही समयअघि एउटा इन्जिनमा खराबी आएको रिपोर्टिङ गरेका थिए ।
तर यो समस्या दुर्घटना नै निम्तिनेसम्मको गम्भीर नहुनुपर्ने र घटना निकै स्तब्धपूर्ण र दुखद भएको कुचेरलाई उद्धृत गर्दै युक्रेनी समाचार एजेन्सीले जनाएको छ ।


