धनगढी, असोज ८ (ई–रैवार)
सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा, बझाङ र डोटी अस्पतालको प्रयोगशालामा ६ सय २७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३ सय ४९ नमुनाहरुमध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचना अधिकारी श्रेष्ठले धनगढीका १७ सहित कैलालीका २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४ जना पुरुष, वडा नम्बर ११ का ४ महिला र ५ पुरुष सहित १० जना, वडा नम्बर १२ का १ महिला र २ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको बताएका छन ।
यस्तै कैलालीको लम्कीचुहाँ नगरपालिकाका २ महिला र २ पुरुष, जानकी गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका वडा नम्बर १ का १ जना पुरुषमा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४३ नमुनाहरमध्ये ११ जनामा संक्राण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये एकजनाको मृत्यु भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु सहित ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
प्रयोगशालाका इन्चार्ज भूषालले बैतडीको पुर्चौडी नगरपालिकाका ९ जना, पाटन नगरपालिकाका १ जना र डडेल्धुराको नबदुर्गा गाउँपालिकाका १ जनाको कोरोनाका कारण मृत्यु भएको बताए ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय २८ नमुनाहरुमध्ये ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा गरिएका परिक्षणमा डोटीकै ४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले शिखर नगरपालिकाका २ जना पुरुष र दिपायल सिलगढी नगरपालिकाका २ जना पुरुष गरी जम्मा ४ जनामा कोरोना संक्रमण देखिएको बताए ।
पछिल्लो २४ घण्टामा बोगटान फुडसिल गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, के.आई.सिंह गाउँपालिका लगायतका ठाउँबाट संकलन गरिएका नमुनाहरु परिक्षण गरिएका थिए । परिक्षण गरिएका मध्ये अन्य १ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला अस्पताल बझाङमा कारोना प्रयोगशाला ७ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले दिएको जानकारी अनुसार ७७ जनाको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर ओखेडाले भदौ २६ गते जिल्ला भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा केही ढिलो भएको भएपनी संचालनमा आएको बताएका छन । प्रयोगशालमा दैनिक २ सय जनाको नमुना जाँच गर्न सक्ने क्षमता छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३० पुगेको छ। कोरोना संक्रमण पुष्टि भएका झण्डै ५ हजार ८ सयले कोरोना जितेका छन् भने १६ जनाको मृत्यु भएको छ ।


