कांग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा : संवैधानिक नियुक्तिबारेको बैठक स्थगित हुने

कांग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा : संवैधानिक नियुक्तिबारेको बैठक स्थगित हुने
Spread the love

काठमाठौं, आश्विन १ (ई-रैवार)

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट  ट्रेसिङमा परेका छन । सभापति देउवाको नीजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम क्वरेण्टीमा बसेका हुन ।

देउवाको नीजी सचिवालयले दिएको जानकारी अनुसार सचिवालयमा कार्यरत अन्य ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ । देउवा होम क्वरेण्टीमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित हुने भएको छ ।

संवैधानिक नियुक्ति टुंग्याउन सत्तारुढ नेकपाले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने तयारी थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि नियुक्ति हुन नसकेका संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने समझदारी भएको थियो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्ने तयारी थियो । संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ । रिक्त आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि आफ्नो अडान राख्दै आएको छ । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने स्रोतले जानकारी दिएको छ ।