धनगढी, भदौ ३१ (ई-रैवार)
सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। महासंघको जिल्ला शाखा कैलालीमा भएको भेलाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासंघको जिल्ला शाखा कैलालीको अगुवाइमा आजदेखि नै थप दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय भएको महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिएका छन । उनका अनुसार आज दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ ।
‘भोली कालो पट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र पर्सी सञ्चार सामाग्रीसहित जिल्ला प्रशासन अगाडि धर्ना र प्रदर्शन गर्ने संघर्षका कार्यक्रम तय भएका छन्।’ कोषाध्यक्ष जोशीले भने– पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आईतवार धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालसम्म ¥याली र कोण सभा गरिएको थियो।
सोमवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर मुख्यमन्त्री त्रिलोभन भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो भने मंगलवार आन्तरिक मामिता तथा कानुन मन्त्रालयमा धर्ना दिइएको थियो ।
समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो।
सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिएको थियो।


