काठमाडौं, भदौ २८ (ई-रैवार)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सदस्यता नवीकरणको काम मंसिर भित्रै सक्ने भएको छ । नेकपाको संगठन विभागले पार्टीको सदस्यता नवीकरणको काम मंसिरभित्रै सक्ने गरी काम अघि बढाउने भएको हो ।
नेकपा स्थायी कमिटी बैठकले महाधिवेशनमा होमिने निर्णय गरेसँगै संगठन विभागले सदस्यता नवीकरणको निर्देशन दिएको थियो । स्थायी कमिटीले मंसिरभित्रै नवीकरणको काम सक्ने निर्णय गरेको हो । आज बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने गरी ३ महिने कार्ययोजना तय गरिएको संगठन विभागकी सदस्य रेखा शर्माले बताइन् ।
जिल्ला कमिटीका विवादका सन्दर्भमा आज कुनै निर्णय नभएको शर्माले बताइन् । कतिपय जिल्लामा अन्तरविरोध र असमझदारीले गर्दा पार्टी कमिटीहरू गठन हुन नसकेको, एकीकरणको क्रममा कतिपय स्थानमा मापदण्ड उल्लङ्घन भएको र अनुशासनलगायत अन्य विषयहरूमा उजुरी र गुनासाहरू प्राप्त भएकाले आगामी असोज महिनाभित्र निरुपण गर्न संगठन विभागलाई स्थायी कमिटीले जिम्मा दिएका थियो ।
‘पार्टीमा रहेका तमाम विवाद समाधान गर्दै महाधिवेशनमा केन्द्रित हुने निर्णय भएसँगै संगठन विभागले सदस्यता नवीकरणको कामलाई तीव्रता दिने भएको छ,’ शर्माले भनिन् । नेकपामा सात लाख क्रियाशील सदस्य रहेको दाबी नेताहरुले गर्दै आएका छन् । जसमा तत्कालिन एमालेको ४ लाख माओवादीको ३ लाख सदस्य रहेको दाबी छ।


