संकटमा पत्रकारः विशेष राहत प्याकेजको माग

संकटमा पत्रकारः विशेष राहत प्याकेजको माग
Spread the love

धनगढी चैत्र २२(ई-रैवार)
यतिबेला पुरै विश्व नोवेन कोरोनाभाईस(कोभिड–१९)को महामारीको चपेटामा छ । नेपालपनि यसको सन्त्रासबाट बिमूख छैन् । हालसम्म नौजनामा यसको संक्रमण पुष्टी हुँदा नेपालमै पहिलोपल्ट धनगढीमा एकव्यक्तीबाट अर्कोको संक्रमण भएको पुष्टी भईसकेको छ ।

तीब्र संक्रमण हुने यो भाईरसले विश्व त्रसित हुँदा त्यसको प्रभाव नेपालमा पनि नबड्ला भन्न सकिन्न ।

विश्व परिबेशको विश्लेषण गर्दा विश्वभरका चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी र पत्रकारहरु बढी जोखिममा छन् । यिनै पेशाकर्मीहरुले बिरामीको सम्मुख गएर आफ्नो सेवा प्रवाह गर्नुपर्ने दायित्व छ ।

यसै परिपेक्ष्यमा नेपालका पत्रकारहरुले पनि यसको संस्थागत रुपमा आवाज उठाउन थालेका छन् । यो रोगको प्रकोपसंग जुध्दा पत्रकारले आफ्नो पेशागत जिम्मेवारी बहन गर्दा सिर्जना हुने जोखिमबारे राज्य जिम्मेवार हुनुपर्ने आवाज उठ्न थालेको छ ।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दहालले जोखिमको अवस्थालाई मध्यनजर गर्दे  महासंघको सदस्य भएका र सूचना विभागबाट प्रेस पास प्राप्त गरका संचारकर्मीलाई पाँच लाख दुर्घटना बीमालाई बढाएर जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताएका छन् । यसबाहेक महामारीको बेला फिल्डमा पुगी कार्य गर्दा साबिकको भन्दा दोब्बर पारिश्रमिकको व्यवस्था उनले माग गरेका छन् । ‘संकटमा संचारकर्मीको रोजीरोटीमा असर नपर्ने या सेवाको निरन्तरताको सुनिश्चिता, संचार प्रतिष्ठानले सरकारसँग समन्वय गरी स्वास्थ्य समस्या देखिएका संचारकर्मीहरुको परीक्षणको व्यवस्था मिलाउनुपर्छ,’ उनले भनेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले संकटको घडीमा ज्यानको सूचना प्रवाह गर्ने, सचेतना अभिवृद्धि गर्ने लगायतका काममा खटिने पत्रकारको दायित्व सरकारले लिनुपर्ने बताएका छन् । ‘नेपालका सञ्चारगृहको हविगत जगजाहेर छ । यस्तोमा झन् महामारीजन्य संकट आउदा यि धरासायी बन्ने निश्चित छ,’ उनले भने,‘यस्तो अवस्थामा सूचना प्रबाह पनि नरोकियोस र पत्रकारले आफ्नो दायित्व पनि पुरा गर्न पाउन भन्नका लागि राज्यले जिम्मेवारी लिनुपर्छ ।’ यसका लागि संघ तथा प्रदेश सरकारले पत्रकारका लागि नै स्पेशल राहत प्याकेज ल्याउनुपर्ने बताए ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले कोरोना भाइरसको महामारीको प्रवाह नगरी फ्रन्टलाइन रहेर नागरिकलाई सुसूचित गर्ने पत्रकारका लागि विशेष राहातको प्याकेज ल्याउन विज्ञप्ति निकालेरै माग गरेको छ ।

महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी झै  पत्रकारले पनि फ्रन्टलाइनरका रुपमा रहेर काम गरिरहेकाले महामारी रोकथामको टास्कमा संचारमाध्यमको परिचालन गर्न नीति तथा योजना सहितको विशेष प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ ।

सुदूरपश्चिममा महामारी नियन्त्रण तथा रोकथामको मुल नेतृत्व गरिरहेको प्रदेश सरकारले संकटबाट पार पाउनका लागि आमसञ्चार क्षेत्रलाई अझ सशक्त र योजनावद्ध रुपमा उपयोग गर्न हातेमालो गर्नुपर्ने खाँचो महसुस भएको समेत विज्ञप्तीमा उल्लेख छ ।