बाजुरा, भदौ २४ (ई-रैवार)
मदिरा सेवन गरेकालाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण भएको छ । बाजुराको त्रिवेणी नगरपालिका –४ तोलीमा मदिरा सेवन गरेकालाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण भएको हो ।
प्रहरीले २२ गते राति वडा नम्बर ४ तोली बस्ने नरेन्द्र साउदलाई स्थानीय बजारमा मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै प्रक्राउ गरेको थियो । त्यसपछि मादक पदार्थ सेवनको चेकजाँच गर्न उनलाई तोली स्वास्थ्य चौकी लगिएको थियो ।
प्रहरलिे उनको चेक जाँचपछि प्रहरी चौकी लैजादैगर्दा प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेका छन् । स्थानीयको अक्रमणबाट ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए । आक्रमणबाट प्रहरी सहायक निरीक्षक(असई) रघुबिर बढु, हवल्दार नारद सिं बिष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका उनले जानकारी दिए ।
घाइते असई बढुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने २ जनाको तोली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीमाथि आक्रमण गर्ने ३ जनालाई प्रक्राउ गरिएको र अन्य ४ जना फरार रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।
त्रिवेणी नगरपालिकाले नगर क्षेत्रलाई मदिरा निषेधित भनेर घोषणा गरेको भएपनि त्यहाँ खुलेआम मदिरा बिक्रि भइरहेको छ।


