राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
Spread the love

काठमाण्डौं वैशाख ८(ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सरकारले पेश गरेका दुई अध्यादेश जारी गरेकी छन्।
सोमबारै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन्।
यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो।
मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घन्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन्।
ती अध्यादेश सोमबारै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन्।
राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ।