काठमाण्डौं वैशाख ८ (ई-रैवार)
सोमबारसम्म देशभरी ३३ हजार पाँचसयभन्दा बढी व्यक्तीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनले पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको बताए। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ। सोमबार नयाँ संक्रमित देखिएका छैनन्। अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन्। ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन्। सुदूरपश्चिममा सोमबारसम्म ५ हजार ५ सय ७८ जनाको नमुना परीक्षण भएको छ। यसैगरी बाग्मती प्रदेशमा ४ हजार ६ सय ७६ नमुना परीक्षण भएका छन्। गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१, प्रदेश नम्बर १ मा २ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा २ हजार ३ सय २४, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३८ र कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ।
अहिले देशभरी ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ४ र उपत्यका बाहिर १ सय ७ सहित १ सय ११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा ३३ हजार बढीमा कोरोना परिक्षण


