आकासिँदै तरकारी र खाद्यान्नको भाउ, दसैंमा मर्कामा उपभोक्ता

आकासिँदै तरकारी र खाद्यान्नको भाउ, दसैंमा मर्कामा उपभोक्ता
Spread the love

काठमाडौं असोज। चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताकर्मीको भनाइ छ ।

दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको खसीको मासु अहिले प्रतिकिलो १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । व्यवसायीका अनुसार गत वर्ष यही समयमा खसीको मासु प्रतिकिलो १ हजार ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । जिउँदो खसीको मूल्यसमेत गत वर्ष प्रतिकिलो ६ सय ८० रहेकामा अहिले ८ सय पुगेको मासु व्यवसायी बताउँछन् । अन्डाको मूल्य पनि बढेको छ । गत वर्ष प्रतिक्यारेट ४ सय ५० रहेको अन्डा अहिले ६ सय रुपैयाँ पुगेको छ ।

खाद्यान्नको मूल्य त पछिल्लो डेढ महिनामै बढेको छ । भदौमा प्रतिकिलो १ सय ९० रहेको ताइचिन चिउरा अहिले २ सय रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघको तथ्यांक छ । दसैंका बेला बढी खपत हुने चिउरासँगै दैनिक भान्सामा प्रयोग हुने दालको मूल्य पनि बढेको हो । भदौमा प्रतिकिलो २ सय २० रहेको रहर दालको मूल्य अहिले २ सय ३० पुगेको छ । त्यस्तै, भदौमा प्रतिकिलो २ सय १५ रहेको मासको दालको मूल्य अहिले २ सय २० पुगेको छ ।

अहिले उत्पादक र थोक विक्रेता दुवैबाट केही सामानको भाउ बढेर आएकाले मूल्य बढाउन बाध्य भएका छौं : पवित्र बज्राचार्य, अध्यक्ष, खुद्रा व्यापार संघ

बजार भाउ हेर्दा पछिल्लो डेढ महिनामै खाद्यान्न प्रतिकिलो ५ देखि ३० रुपैयाँसम्म बढेको देखिन्छ । खुद्रा व्यापारी विगतका वर्षमा जस्तै यस पटक पनि थोक बिक्रेताबाटै मूल्य बढेर आएकाले आफूहरूले मूल्य बढाउन बाध्य भएको बताउँछन् । ‘अहिले उत्पादक र थोक बिक्रेता दुवैबाट केही सामानको भाउ बढेर आएको छ,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने ।

काँचो बदामको मूल्य पनि एक्कासि बढेको छ । भदौमा प्रतिकिलो २ सय ६० रहेको काँचो बदाम अहिले २ सय ९० रुपैयाँ पुगेको छ । भदौमा प्रतिकिलो १ सय २५ रहेको मुरली मकैको मूल्य अहिले १ सय ४० पुगेको छ । पछिल्लो समय चामलको मूल्यसमेत बढेको खुद्रा व्यवसायीको भनाइ छ । भदौमा प्रतिकिलो ९० देखि १ सय रहेको चामलको मूल्य अहिले १ सय २० पुगेको छ ।

कृष्णभीरमा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनुपरेको र त्यसले ढुवानी लागत बढाएको व्यवसायीले बताउँदै आएका छन् । केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढाए पनि नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकेको छैन । विभागले अनुगमन भइरहेको जनाए पनि बजार मूल्यमा उल्लेख्य कमी आएको देखिँदैन ।

काठमाडौंमा अनुगमनका लागि ९ टोली खटाइएको छ, अस्वाभाविक रूपमा बढेकामा मात्रै हामी कारबाही गर्छौं : अनिल किराती, सूचना अधिकारी, वाणिज्य विभाग

अहिले काठमाडौंमा अनुगमनका लागि ९ वटा टोली खटाइएको विभागका सूचना अधिकारी अनिल किरातीले बताए । ‘अस्वाभाविक रूपमा बढेकामा मात्रै हामीले कारबाही गर्छौं । १ सयको २ सय भयो भने हामीले कारबाही गर्ने ठाउँ हुन्छ । नत्र १ सयमा २० रुपैयाँ बढाउँदा हामीले कारबाही गर्न सक्दैनौं,’ किरातीले भने ।

पछिल्लो समय विपद्का कारण सडक बिग्रिएर रुट परिवर्तन गर्नुपर्दा ढुवानी भाडा बढेको र त्यसको असर बजार मूल्यमा परेको देखिएको छ । सरकारले ढुवानीमा लगाएको करको असरसमेत बजारमा देखिएको किरातीको भनाइ छ ।

यसपालि चाडपर्वमा मूल्य बढ्नुमा बजार अनुगमनभन्दा पनि आपूर्ति व्यवस्थापनको कमजोरी प्रमुख कारण देखिएको उपभोक्ताकर्मी बताउँछन् । वर्षायाममा पहिरो तथा सडक अवरोधका कारण आपूर्ति शृंखलामा समस्या आउन सक्ने पूर्वानुमान गरेर समयमै खाद्यान्नको आपूर्ति व्यवस्थापन गर्नुपर्ने भए पनि त्यसमा सरकार चुकेको उनीहरू जनाउँछन् ।

सरकारले समन्वयकारी भूमिका निर्वाह गरी समयमै खाद्यान्न ल्याई आपूर्ति शृंखला नटुटाउनुपर्ने थियो, त्यसमा चुक भयो : माधव तिमल्सिना, उपभोक्ताकर्मी

प्राकृतिक विपत्ति वा चाडपर्व नजिकिँदै गर्दा अस्वाभाविक तथा कृत्रिम रूपमा मूल्यवृद्धि हुने गरेको उपभोक्ताकर्मी माधव तिमल्सिनाको भनाइ छ । यस पटक कृष्णभीरको पहिरोले समेत आपूर्ति शृंखलामा समस्या पारेको उनले बताए । ‘असार र मंसिरको बीचमा सधैंजसो आपूर्ति शृंखलामा समस्या आउने गरेको छ । यही मौकामा व्यवसायीले वस्तुको मूल्य बढाउने गरेका छन्,’ तिमल्सिनाले भने ।

पुरानो धान सकिँदै जाने र नयाँ धान बजारमा आउन केही समय लाग्ने भएकाले यही समयमा चामलको मूल्य बढ्ने गरेको उनको भनाइ छ । त्यस्तै, असोज–कात्तिकमा उखु क्रसिङ सुरु नहुँदा चिनीको उपलब्धतामा पनि कमी आउने गर्छ । सरकारले भारतलगायत मुलुकबाट समयमै खाद्यान्न खरिद गरेर बजारमा अभाव हुन नदिने तथा मूल्य बढ्ने समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बजारमा हस्तक्षेप गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको तिमल्सिनाले बताए ।

‘चिनी तथा चामलजस्ता खाद्यान्नमा हामी परनिर्भर छौं । भारतसँग जीटुजीमार्फत, साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वा निजी क्षेत्रका व्यवसायीमार्फत समयमै ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘सरकारले समन्वयकारी भूमिका निर्वाह गरेर समयमै खाद्यान्न ल्याई आपूर्ति शृंखला नटुटाउनुपर्ने थियो । सरकार त्यसमा चुकेको अवस्था छ ।’खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत समयमै खाद्यान्न आपूर्ति गरेर बजारमा हस्तक्षेप गर्नुपर्ने भए पनि त्यो प्रभावकारी हुन नसकेको उपभोक्ताकर्मीहरूको भनाइ छ । कम्पनीले अहिले प्रतिकिलो १ सय १० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । तर बजारमा चिनीको मूल्य १ सय ४० सम्म पुगेको थियो । अहिले भने १ सय २५ देखि १ सय ३० रुपैयाँमा सीमित भएको छ ।४४ जिल्लाका १ सय ९३ स्थानमा सञ्चालित सुपथ पसलबाट सस्तो मूल्यमा चिनी बिक्री भइरहेको कम्पनीले जनाएको छ । तर खाद्यले सस्तोमा चिनी बिक्री गरे पनि त्यसले समग्र बजारमा प्रभाव पारेर मूल्य नियन्त्रण गर्न नसकेको उपभोक्ताकर्मी तिमल्सिनाको भनाइ छ । ‘बजार मूल्यमा हस्तक्षेप गर्नकै लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थानजस्ता सार्वजनिक संस्थानको परिकल्पना गरिएको हो । तर उनीहरूको उपस्थिति कमजोर देखिएको छ,’ उनले भने, ‘बजारमा प्रभाव पर्ने गरी सरकारले यस्ता संस्थालाई काम लगाउन सकेको छैन ।’

विश्व बैंकले दैनिक ३ डलरभन्दा कम आय भएको व्यक्तिलाई गरिबीको रेखामुनि रहेको मान्छ । नेपाली रुपैयाँमा हिसाब गर्दा दैनिक ४ सय ६४ र मासिक १३ हजार ८ सय ९४ रुपैयाँभन्दा कम आम्दानी गर्नेहरू गरिबीको रेखामुनि पर्छन् । विज्ञहरूका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले वर्षभरि गर्ने खर्चमध्ये करिब तीन महिनाको बराबर खर्च चाडपर्वकै समयमा गर्छन् । दसैंलाई लक्षित गरेर वस्तुको उत्पादन र आपूर्ति बढ्ने भए पनि नेपालमा यही समयमा बजार मूल्यसमेत बढ्ने गरेको छ ।

आम्दानी नबढ्ने तर चाडपर्वका बेला महँगी बढ्दा निम्न तथा मध्यम वर्गको पारिवारिक बजेट प्रभावित हुन्छ : चन्द्रमणि अधिकारी, अर्थविद्

यसको प्रत्यक्ष असर निम्न तथा मध्यमवर्गीय परिवारमा पर्ने गरेको अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । उनका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले आफ्नो आम्दानीको करिब ६० प्रतिशत उपभोगमा खर्च गर्छन् । त्यसैले आम्दानी नबढ्ने तर चाडपर्वका बेला महँगी बढ्ने अवस्थाले उनीहरूको पारिवारिक बजेट प्रभावित हुने गरेको छ । ‘पारिवारिक बजेट बिग्रिएपछि ऋणमा फस्नुपर्ने र खानपिनमा कटौती गर्नुपर्ने बाध्यता हुन्छ । यससँगै ग्राहकको स्वास्थ्यमा असर पर्ने र त्यसले आम्दानीमा थप प्रभाव पार्ने हुन्छ,’ अधिकारीले भने ।