कांग्रेसको विशेष महाधिवेशन भोलि औपचारिक रूपमा उद्घाटन हुँदै ।

कांग्रेसको विशेष महाधिवेशन भोलि औपचारिक रूपमा उद्घाटन हुँदै ।
Spread the love

काठमाडौं पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार औपचारिक रूपमा उद्घाटन हुँदैछ । उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण सम्पन्न गरिएको छ भने कुर्सी र साउन्ड सिस्टम जडानलगायतका तयारी कार्य तीव्र रूपमा भइरहेको छ ।

आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आइतबार बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने जनाएको छ । ती सबै जुलुस भृकुटीमण्डपमा पुगेर समापन हुनेछन् ।

सुन्धाराबाट सुरु हुने जुलुस वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ । रत्नपार्कबाट निस्कने जुलुस भने पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

त्यसैगरी शंकरदेव क्याम्पसबाट निस्कने जुलुस पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ । कमलपोखरीबाट सुरु हुने जुलुस चारखाल अड्डा–डिल्लीबजार–पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै गन्तव्यमा पुग्ने तय भएको छ ।

कुपन्डोलबाट निकालिने जुलुस थापाथली–त्रिपुरेश्वर–सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

विशेष महाधिवेशनमा सहभागी हुने ठूला सवारी साधनको पार्किङका लागि सहिदगेटको उत्तरतर्फ टुँडिखेल क्षेत्रमा व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।