प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, महाअभियोग र एमसीसी संसद्मा पेस गर्ने बारे छलफल

Spread the love

काठमाडौं : सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सत्तारुढ दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बिच प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसीसी संसद्मा पेस गर्ने बारे छलफल भएको स्रोतले जानकारी दिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका हुन ।

भेटमा प्रधानन्यायाधीशविरुद्धको महाअधियोग र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल भएको स्रोतले बतायो । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

स्रोतका अनुसार भोलि बोलाइएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता घटकका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे अझै केही दुविधाहरु बाँकी रहेकाले त्यसलाई हटाउने प्रयास जारी नै छ ।

प्रधानमन्त्री देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सभामुख अग्नि सापकोटालाई आग्रह गरिसकेका छन् । त्यसअघि देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका थिए ।