काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको छ । कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । संसदीय दलको बैठकमा एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको सांसद गगन थापाले जानकारी दिएका हुन ।
थापाका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।
कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।
त्यसबेला नेकपामा रहेका सांसदहरु अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेको भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘उहाँहरुको संयुक्त सरकारको मन्त्रिपरिषद्बाट पास गरेर दर्ता गराएको प्रस्ताव अनुमोदनका लागि संसदमा प्रस्तुत हुँदै गर्दा एमालेले पनि पक्षमा उभिन्छ, माओवादी पनि पक्षमै उभिन्छ भन्ने विश्वास व्यक्त गरेको छ ।’
“आजको बैठकले एमसीसी परियोजना टेबल गर्ने निर्णय गर्यो । एमाले र माओवादी यसको पक्षमा उभिन्छन् भन्ने बैठकको विश्वास छ,” थापाले भने, “प्रधानमन्त्री भोलि परियोजना टेबल हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।”


