धनगढी : डोटीको वडीकेदार गाउँपालिका कर्मचारीहरुले आफुहरु असुरक्षित भएको बताएका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै जिम्मेवार पदाधिकारीबाट नै असुरक्षित भएको बताएका हुन ।
विज्ञप्तीमा जिम्मेवार पदाधिकारी कार्यकक्षमा आएर गालि बेईज्जती गर्ने, धम्क्याउने, असान्दर्भिक बिषय उठाई आफ्नो स्वार्थपूर्तिका लागि गलत काम गर्न लगाउने र कानुन सम्मत गर्न नमिल्ने काम समेत गर्न दवाव दिने गरेको बताईएको छ ।
कर्मचारीहरुलाई गाउँपालिकामा बस्ने बिचार छ भने हामीले भनेको काम गर्नुपर्छ नत्रभने जोलाई जहाँ जाने मन छ त्यतै गए हुन्छ हामीले कसैलाई बसिदिनु प¥यो भनेका छैनौं भनेर धम्की दिने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिम्मेवार पदाधिकारीले आफ्नो स्वार्थ पुरा गर्नका लागि फर्जिविल भर्पाईहरु बनाई जनताको सम्पती दुरुपयोग गर्न खोज्ने, कर्मचारीहरुले कानुन सम्मत गर्न नसकिने भनेपछि लैङ्गिक मुद्धामा फसाई दिने, ज्यानकै धम्की दिने, नमाने अन्य बाहिरी ब्यक्तिहरुलाई समेत कर्मचारीका बिरुद्ध परिचालन गर्ने गरेको बिज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा जिम्मेवार पदाधिकारीबाट हुने घटनाको घोर आपत्ति र भत्र्सना गर्दै यस्ता गलत सब्दहरु फिर्ता गर्न लगाई कर्मचारीको शुरक्षाको प्रत्याभूती गर्न माग गरिएको छ । अन्यथा बडी केदार गाउँपालिकाका कर्मचारीहरुका लागि अशुरक्षित क्षेत्र बन्दै गैरहेकोले यथासिघ्र समस्या समाधान हुन नसके सम्पूर्ण कर्मचारीहरु सेवा प्रवाह गर्न नसक्ने कुरा प्रति सरोकारवालाको ध्यान आकर्षण गराईएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले कर्मचारीहरुले विज्ञप्ती निकाले बिषयमा जानकारी नभएको बताए । उनले भने, बडीकेदारमा प्रशासनको उपस्थिती छ , समस्या भएमा स्थानीय प्रशासनले सुरक्षा दिन्छ ।


