काठमाडौं : राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।
१९ पदका लागि बुधबार भएको निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहगरी ४३ उम्मेदवार सहभागी भएका थिए । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो । निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामध्ये १९ उम्मेदवार विजयी भएका हुन् ।
नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।



