काठमाडौं : निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता एक जना शंकास्पद भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता भएका भारत पिलभित घर भएका २४ वर्षीय अली हसनलाई नियन्त्रणमा लिएको हो । अलिको परिवार लामो समयदेखि कञ्चनपुरमा तरकारी खेती गर्दै आएको थियो । प्रहरीले भने यसबारे आधिकारिक रुपमा धारणा सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त टोलीले भारतबाट अली हसनलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ ।
प्रहरीका एक उच्च अधिकारीले भने,“उनी हाम्रो शंकाकै घेरामा थिए । अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं । डीएनए परीक्षणका लागि नमुना पठाएका छौं । अहिले नै अरु कुरा भन्न सकिन्न । रिपोर्ट पर्खिरहेका छौं ।”
प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न अझै सकेको छैन । जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको छ ।


