काठमाडौं, कार्तिक १२ (ई-रैबार)
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो ।
प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत छन् ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् ।
त्यसअघि, अक्टोबर ३० (कात्तिक १३) मा प्रधानमन्त्री देउवा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित भई सम्बोधन गर्नेछन् ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
गृहमन्त्री खाणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।
विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।
वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ । दोस्रो वरियतामा गृहमन्त्री खाण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकी पम्फा भुसाललाई चौंथो वरियतामा राखिएको छ ।


