माओवादीको निर्वाचन कार्यक्रम फेरि संशोधन, मतदान सोमबार विहान ८ बजे देखि

Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको हो ।

यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।

त्यस्तै मतदानको समय भने सोमबार विहान ८ देखि १ : २५ सम्मको समय तोकिएको छ ।