देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको आग्रह

Spread the love

काठमाडौं, कार्तिक २७ (ई-रैवार) 

देशभर चिसो बढिरहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले देशभर चिसो बढिरहेको हो ।

चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ । 

आज राति पनि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको महसुस भएको छ।

यद्यपी तत्काललाई पानी पर्ने सम्भावना छैन। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायु को प्रभावसँगै जाडोयाम सुरू हुन्छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव ३ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।