धनगढी, भदौ ७ (ई-रैवार)
पश्चिम नेपालका थारू समुदायले आज आट्वारी पर्व मनाउँदै छन् । आट्वारी पर्व श्क्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र भोलीपल्ट बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि खाने चलन छ ।
रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालई चढाएर दिदीबहिनीका लागि ’अग्रासन’ (दिदी बहिनीका लागि छुट्याइने परिकार) छुट्याई) बनाइएका पारिकार खाँदै यो पर्व मनाउने परम्परा रहेको छ ।
व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खान्छन् र आफ्ना दिदीबहिनीलाई फलफूल र रोटी मात्र खाने र दास्रो दिन बिहान भात तरकारी पकाई भात तरकारीको अग्रासन दिन जान्छन् ।
जब आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदी बहिनीका बीचमा स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ। थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोडिएको छ ।

दाङका थारुराजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्वन्धित छ। महाभारतका पाँच पाण्डवहरु र दाङका थारुराजा दंगिशरण वीचमा लामो समयदेखि राम्रो सम्वन्ध थियो । पाँच पाण्डव र दौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दाङका थारुराजा दंगिशरणको राज्यमा शत्रुहरुलाई आक्रमण गर्नलागेको खवर थाहा पाएपछि तावामा पकाउदै गरेको रोटी छोडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लडेका थिए ।
भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएका थिए । त्यहि विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउदै आएका छन् । भीमजस्तै बलियो हुनको लागि पानी समेत केहि नखाई थारु समुदायले अट्वारी पर्व मनाउँदै आएका हुन् ।
संयोगबस उक्त घटना आइवारको दिन परेकोले थारु समुदायले आइवारको दिन अट्वारी मनाउने गर्दछन। अट्वारी पर्व तराईका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायहरुले प्रायः मनाउँछन् ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ। २०७७ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक भईसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीका अनुसार आज थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिइएको हो ।
अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ। २०७७ सालमा दिईने बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ । मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीका अनुसार प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा हुनेछ।
२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।


