नेपालगञ्ज विमानस्थलमा तीनवटा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

Spread the love

नेपालगञ्ज, कात्तिक १६ (ई-रैवार) 

नेपालगञ्ज विमानस्थलमा उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएर दुर्घटनामा परेको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो ।

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किएका हुन् । उडानका लागि गुडिरहँदा सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका थिए ।

दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले बताए ।

विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल बन्द गरिएको छ

विमानस्थलभित्र झाडी भएकाले बँदेलको बासस्थान भएको र जहाज उड्ने बेलामा एकैपटक निस्किएका बदेलसँग ठोक्किएको थियो । बँदेलसँग ठोक्किएपछि उक्त जहाजलाई तानेर साइडमा राखिएको थियो ।