काठमाडौं, कार्तिक १२ (ई-रैबार)
सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुने भएको छ ।कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।
केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
निर्वाचन समितिले बाँकी रहेका वडा अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधिसभा क्षेत्र अधिवेशन, स्थानीय तह अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको पनि नयाँ मिति तोकेको छ ।
निर्वाचन समितिले जिल्लाहरुलाई विभिन्न समूहमा विभाजन गरी अधिवेशनको छुट्टाछुट्टै मिति तोकेको छ । सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा गाउँ/नगरको वडा अधिवेशन कात्तिक २७ गते हुनेछन् ।
त्यसपछि गाउँ/नगर अधिवेशन कात्तिक ३० मा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते हुनेछ । एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन भने मंसिर १० गते हुनेछ ।
नेपाली कांग्रेसको प्रदेश समितिको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।



