काठमाडौं, कार्तिक १२ (ई-रैबार)
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज (शुक्रवार) बिहान ११ बजे सुरु हुने बैठकमा स्थायी कमिटी बैठकले गरेकाका निर्णय अनुमोदन गर्ने छ ।
बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिएका हुन् । उनकाअनुसार हिजोको बैठकले चयन गरेको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड आज अनुमोदन गरिनेछ ।
साथै बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनमा एक हजार ५३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रतिनिधिको मापदण्ड पनि तय गरेको छ । जसअनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर एकजना महिला र दुईजना खुला गरी तीनजना प्रतिनिधि चयन हुनेछन् ।
५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुला प्रतिनिधि हुनेछन् । जसमा हरेक जिल्लाबाट एक–एकजना दलित प्रतिनिधि चयन गरिनेछ ।
त्यस्तै दसौँ राष्ट्रिय महाधिवेशन स्थल चितवनमा पुगेर फर्केका मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले आजको बैठकमा ‘ब्रिफिङ’गर्ने बताइएको छ।
एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ। नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने जनाइएको छ । यो महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने छन्।


