प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

Spread the love

कैलाली, कार्तिक ९ (ई-रैबार)

प्रहरी हत्याका प्रकरणका ९ जना अभियुक्तलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्याका ९ जना अभियुक्तलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेको हो ।

मंगलवार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्याका अभियुक्त ९ जनालाई जन्मकैदको फैसला गरेको हो। २०७७ कार्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो।

धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सीमामा अबैध समानहरुको तस्करी गरिरहेका तस्करहरुको समुहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा उक्त तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारीलो हतियार प्रहार गरी दुबै जनाको हत्या गरिएको थियो।शव सीमा नाका मोहना नदीमा फेला परको थियो।

जिल्ला अदालत कैलालीले धनगढी उपमहानगरपालिका १० जुगेडाका २७ बर्षका कल्लुवा भन्ने रामनिवास राना, सोही ठाउँका २९ गब्बर भनिने राजकुमार राना, ३१ बर्षका गोपाल भनिने रामगोपाल राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २० बर्षका राजेन्द्र राना, २३ बर्षका पड्कु भनिने रोहित राना, २९ बर्षका टल्लु भनिने दलराम राना, २० बर्षका रोहित राना र ३४ बर्षका सुक बहादुर भनिने अमर रानालाई जन्म कैदको फैसला गरेको हो।

अदालतले सोही ठाउँका ३६ बर्षका व्यापारी राजिव गुप्तालाई भने सफाई दिएको छ। ९ जना प्रतिवादीहरुले गुप्ताको बारेमा नबोलेपछि सफाई दिएको जिल्ला अदालत कैलालीले जनाएको छ। राति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्क बिहिन भएका थिए। तस्करहरुसंगको भीडन्तमा असई गोविन्द विक र प्रहरी जवान रामबहादर साउद मारिएका थिए।