नेपालमा थप ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप बेइजिङबाट आउँदै

Spread the love

काठमाडौं, असोज १ (ई-रैवार) 

आज थप ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ आउँदैछ । निगमको जहाज गएराति ११ बजे बेइजिङ गएकोथियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज दिउँसो २ बजे काठमाडौँ पुग्ने छ । मन्त्रालयका महाप्रबन्धक डीमप्रकाश पौडलले यो खोप यही असोज ४ गतेदेखि लगाउने तयारी छ ।

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या भने १ करोड १५ लाख नाघेको छ । हालसम्म नेपालमा ६० लाख ५७ हजार १ सय ९४ जनाले पहिलो मात्रा लगाएका छन् भने ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण मात्र लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण दर घटे पनि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ पुगेको हो । गत २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १ हजार ६ सय ८९ जना स्वस्थ भएका छन् ।