कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल हुने

Spread the love

काठमाडौँ, साउन १३ (ई–रैवार)

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक ११ बजेपछि बस्ने भएको छ । बैठक ११ बजेपछि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बताइएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।

क्रियाशील सदस्यता छानविन समितिले देशभरका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ।

बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ। समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद बढ्न सक्ने देखिएको छ।

समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफलका लागि सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबारदेखि आन्तरिक छलफलमा जुटेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो। संस्थापन पक्षले एकलौटी ढंगले क्रियाशील सदस्यता वितरण गरेको संस्थापनइतर समूहले आरोप लगाएको छ। कांग्रेस क्रियाशील सदस्यको विवादले पार्टीको आगामी १४ औँ महाधिवेशन प्रभावित हुन शुरु भएको छ।