एमाले नेता नेम्वाङलाई कांग्रेस नेता सिंहको प्रश्न : संविधानमा ७६(५) लेख्दा कहाँ हुनुहुन्थ्यो, संस्कारको कुरा गर्ने ?

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

कांग्रेस नेता प्रकाशमान सिंहले सुवास नेम्वाङको नैतिकतामा प्रश्न उठाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिन बसेको प्रतिनिधिसभाको बैठकमा नेता सिंहले नेम्वाङमाथि प्रश्न उठाएका हुन् ।

कानुनविद्, कानुनका विद्यार्थी भन्ने र संविधान निर्माण गर्नेहरू नै अहिले पनि सांसद रहेको भन्दै सिंहले संविधानको धारा ७६ को उपधारा ५ किन राखेको भनेर नेम्वाङमाथि प्रश्न गरेका थिए ।

“आफूलाई संविधानविद् भन्नुहुन्छ, कानुनविद् भन्नुहुन्छ,” सिंहले भने, “तर, संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन हुँदा परामादेशबाट भन्नुहुन्छ ।” उनले संविधानसभाको अध्यक्षसमेत भएर काम गरेको मान्छेबाटै संविधानका विषयमा अनविज्ञता प्रकट हुनु आश्चार्य भएको बताए ।

“उहाँ (सुवास नेम्वाङ) त संविधानसभाको अध्यक्ष पनि हुनुहुन्थ्यो, अव संसद मर्दैन पनि उहाँ नै भन्नुहुन्थ्यो,” सिंहले प्रश्न गरे, “संविधानको धारा ७६(५) लेख्दा उहाँ कहाँ हुनुहुन्थ्यो ? आफूलाई संविधानविद्, कानुनविद भनेर संविधानमा नभएका कुरा गर्दै हिड्न पाइन्छ ?” उनले जिम्मेवार व्यक्तिबाट जिम्मेवार भूमिका निर्वाह भएन भने त्यसले गलत परिणाम दिने बताए ।

नेता सिंहले संविधानको धारा ७६(५) को अपव्याख्या नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सुझाव दिएका छन् । “यो सरकार परमादेशको भएकाले जनादेश छैन भन्नुहुन्छ,” सिंहले भने, “संसदले विश्वास दिएको होइन शेरबहादुर देउवालाई, त्यो परमादेश हो कि जनादेश हो ।” ‘संविधान बनाउँदा ७६ (५) राख्ने अनि अहिले संस्कार कल्चर भ्यालुज्‌को कुरा गर्ने ?,’ उनको प्रश्न थियो ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेर एमाले सरकारले शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त मिचेको भन्दै सिंहले भने, ‘सत्तामा बस्दा, कार्यपालिकाको नेतृत्व गर्दा अपनाउनुपर्ने विधि र नियम नमान्ने । अहिले जनतादेशबाट होइन, परमादेशबाट भयो भनेर कराएर के पाउनुहुन्छ ?,’ उनले भने ।

देउवा संविधानबमोजिम प्रधानमन्त्री बनेको भन्दै सिंहले जनताको आदेश नै त्यही रहेको बताए । एमाले नेतृत्वको सरकारले विधि मिचेको र दलहरूलाई जबर्जस्ती चुनावमा लैजान खोजेको भन्दै अब जनादेश र परमादेश भनेर कसैले महत्त्व नदिने बताए । ‘सत्तामा हुँदा संस्कारको ख्याल नगर्ने अहिले विपक्षमा बसेपछि मूल्य र मान्यताको कुरा गरेर त कतिको महत्त्व पाउला ?,’  भन्दै प्रश्न गरे ।

सिंहले संविधान जारी गर्दा अहिलेकै दलहरूको सहमतिमा संविधानमा ७६ को ५ राखिएको भन्दै अहिले त्यही धारा अनुसार सरकार बन्दा परमादेशबाट सरकार बनाएको भनेर भइरहेको आलोचना संविधानको अपव्याख्या हुने बताए । जनप्रतिधिले दिएको जनमत पनि जनादेश हो  उनले भने ।

‘संविधानमा ७६(५) राख्ने अनि अहिले आएर संस्कार र कल्चरको कुरा गर्न मिल्छ ? पुस ५ गते संसद विघटन भयो, दोस्रो पटक जेठ ८ मा पनि भयो’, सिंहले भने, ‘आफू सत्तामा बस्दा कार्यपालिकाले अपनाउनुपर्ने विधि नअपनाउने ? तर अहिले जनादेश होइन परमादेशबाट प्रधानमन्त्री भनेर कराउने ?’

एमालेप्रति व्यंग गर्दै सिंहले भने, ‘ओलीले पानीजहाज पनि चलाइसक्नुभएको छ । चुच्चे रेल पनि ल्याइसक्नुभएको छ । हाइवेमा रनवे पनि ल्याउनुभएकै छ । अब नवनियुक्त प्रधानमन्त्रीलाई काम सजिलै होला भन्ने लागेको छ ।’

जनताको मत पाएको दल विधिअनुरूप नचले के हुन्छ भन्ने उदाहरण देउवा प्रधानमन्त्री नियुक्त हुनु रहेको सिंहको भनाइ थियो । राष्ट्र संकटमा पर्दाखेरि कांग्रेसले उचित निकास दिएको पनि सिंहले भने । सबैलाई मिलाएर प्रधानमन्त्री देउवाले लैजाने विश्वास आफूमा रहेको सिंहको भनाइ थियो ।

सिंहले ओली सरकारको गैरजिम्मेवारीपनबाट सिकेर प्रधानमन्त्री देउवाले संविधान, संविधानको भावना र मर्म, विधिको शासन पालना गरेर आफ्ना कार्य अगाडि बढाउने विश्वास रहेको बताए । सरकारलाई कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासन दिने कुरामा विशेष ख्याल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।