प्रधानमन्त्री देउवाले भने- ऋण, सापट लिएर भएपनि सबै जनतालाई खोप दिन्छौं

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएकाले खोप उपलब्ध गरिछाड्ने बताएका हुन ।

प्रधानमन्त्री देउवाले जनतालाई कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता व्यक्त गरेको र त्यो जसरी पनि पूरा गर्ने बताए । उनले भने, ‘हामी ऋण लगेर, सापट लिएर भएपनि जति महँगो भएपनि नेपाली जनतालाई खोप पुर्‍याउने छौं ।’ प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै देउवाले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

राजनीतिक दलका नेताहरूले दिएको बधाई तथा शुभकामनाप्रति धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले नेम्वाङप्रति व्यंग गरे । ‘यहाँ विपक्षी दलका नेता हुनुहुन्न । उपनेता, पूर्वसभामुख पनि आफूले बोलेर संस्कृतिका कुरा गरेर जवाफ नसुनीकन हिँड्नुभयो,’ उनले भने, ‘यो संविधानमा ७६ ( ५) किन लेख्नुभयो ? भनेर सोध्नेवाला थिए ।’

नेम्वाङले संविधान निर्माण भएपछि सार्वजनिक रूपमा राखेका धारणा स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘उहाँले अब कहिले पनि यो संविधान भत्किने छैन, संसद् विघटन हुने छैन भनेको झल्झली सम्झन्छु ।’

जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि सांसदले बहुमत पुर्‍याउन सक्नुहुन्छ भने दाबी गर्न आह्वान गरेको र सोहीअनुसर आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको देउवाले बताए ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेर संसद्‌मा विश्वासको मत लिन पठाउनुपर्नेमा त्यसो नगरेको देउवाले बताए । त्यसो नगरे सांसदहरूको सनाखत गर्न सक्नेमा पनि त्यो नगरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । संविधानको धारा ७६ को उपधारा ५ किन लेखिएको भन्ने पूर्वसभामुख नेम्वाङलाई राम्रोसँग जानकारी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

विश्वासको मत लिने क्रममा कांग्रेसले ह्वीप जारी नगरेको तर काठमाडौं आएर आफ्नो पक्षमा भोट हाल्न अनुरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्तो अनुरोध अन्य दलका सांसदलाई पनि गरिएको बताए । कांग्रेसले विश्वासको मत लिने क्रममा ह्वीप जारी गरेको नेम्वाङले आरोप लगाएका थिए ।

संसद बैठकमा दलको तर्फबाट नवनियुक्त प्रधानमन्त्री देउवालाई सांसदहरुले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। बधाई दिने सांसदमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, काँग्रेसबाट प्रकाशमान सिंह, माओवादी केन्द्रबाट हरिबोलप्रसाद गजुरेल, जसपाबाट महेन्द्र राय यादव र अनिलकुमार झा, नेमकिपाबाट प्रेम सुवाल, राष्ट्रिय जनेमोर्चाबाट दुर्गा पौडेल, राप्रपाबाट राजकुमार लिङदेनले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गरेका थिए ।

प्रधानमन्त्री देउवाले संसद बैठकमा महालेखा परीक्षकको सन्ताउन्नौं वार्षिक प्रतिवेदन २०७७ पेश गरेका छन् । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७८ संसद बैठकमा पेश गरेकि छन् । अर्को बैठक १२ गते मंगलबार १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी गराएका छन् ।