काठमाडौँ, जेठ ५ (ई-रैवार)
एमाले विवाद भित्रको मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। आज अबेर साँझ ७ बजे बैठक तय गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका तर्फबाट कार्यदल संयोजक रहेका संसदीय दलका उपनेता नेम्वाङले बताएका छन् ।
मंगलबार सिंहदरबारमै दिउँसो १ बजेपछि बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय पनि कार्यदलले गरेको थियो । पार्टीमा एकता–समझदारीलाई वृद्धि गर्न तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गर्दै हिजोको बैठक सकिएको थियो ।
पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए। तीन दिनको समय पाएको कार्यदलको समय आज सकिँदैछ। कार्यदलले पाएको समयमा काम नसकिने भएकाले अरू थप समय लाग्ने यसअघिनै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताइसकेका छन्।


