काठमाडौं, असार २९ (ई–रैवार)
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री देउवाको पदभारपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री देउवाले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । साथै बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
देउवा मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले मंगलबार नै कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्रीलाई आफ्नो मन्त्रिपरिषद्मा थप गरेका छन् ।
कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका छन् ।



