धनगढी, असार २१ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षमा कार्यान्वयन गरेका योजनाहरुको सूचना माग गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले सुदूरपश्चिम पश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेका कार्यक सूचना माग गरेको हो ।
यस्तै सञ्जालले प्रदेश सभा सचिवालयमा माननीय प्रदेश सभा सदस्यहरुको आवासबापतको सुविधा बुझेको रकमको विवरण, कार्यालयमा अतिथि सत्कारको खर्च विवरण, प्रदेश सभा सदस्यहरुको निजी सचिवायलमा कार्यरत स्वकीय सचिवको संख्या र उनीहरुको खर्च, प्रदेश सभामा बसेको बैठकको दिन र उनीहरुले खर्च गरेको खाजा भत्ताको रकमको छायाँकपी माग गरेको छ ।

यस्तै समाजिक विकास मन्त्रालयमा चालू आर्थिक वर्षको खाजा खर्च, अतिथि सत्कार, स्वकीय सचिवहरुको खर्चको विवरण सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका केन्द्रीय संयोजक उमिद बागचन्द लगायतको हस्ताक्षरित निवेदनमा सूचना माग्दै सम्बन्धित सूचना अधिकारी समक्ष बुझाइएको छ ।
सोमबार सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका सुदूरपश्चिम प्रदेश संयोजक प्रेम ढुंगाना, सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका कैलाली संयोजक तथा पत्रकार पुष्पराज जोशी र सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका प्रदेश सदस्य निराजन परियारले संयुक्तरुपमा सूचना माग गरेका हुन् ।


