ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग
Spread the love

काठमाडौं वैशाख १६

नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् ।

भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि सम्पर्क बढाएर छलफल थालेकी हुन् । उनले हिजोमात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी छिन् । कुराकानीमा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे समेत चासो राखेका थिए । सीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेको परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणपछि सामान्य काममा फर्किएकोमा खुशी व्यक्त गरिएको उल्लेख छ ।

दुई देशका राष्ट्रपतिबीचको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीको विषयमा समेत कुराकानी भएको प्रेस विज्ञप्तिमा राखिनु आफैमा एउटा सन्देश हो । अहिले प्रधानमन्त्री ओलीको सत्ता संकट गरिरिदै जाँदा उनलाई चीनको दरिलो साथ रहेको सन्देश दिन खोजिएको छ । राष्ट्रपति सीले ओलीको स्वास्थ्य राम्रो होस् भनी कामना गर्दै खुशी व्यक्त गरिएको भनिएको छ ।

विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले ओली सरकारमाथि देखिएको चुनौतीबारे पनि छलफल गरेकी थिइन् । उनले चीनको साथ र सहयोगको आग्रह गरेको बुझिएको छ । चीनबाट ओलीलाई अझ बलियो साथ मिल्ने आवश्वासन आएको बुझिएको छ ।

यसैगरी, राष्ट्रपति भण्डारीले अन्य शक्तिसँग पनि ओली सरकारका लागि सहयोगको आग्रह गरेको बुझिएको छ । उनको सक्रियताले ओली हौसिएका छन् । ओलीले यसै हप्ता राष्ट्रपति भण्डारीसँग शितलनिवास पुगेर छलफल गर्न थालेका छन् ।

-रिपोर्टस नेपाल