काठमाडौँ, असार १७ (ई–रैवार)
मनसुन सक्रिय भएसँगै आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कयौँ स्थानमा भारी वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीकाे भनाइ छ ।
मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात सेवा प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा कम्तीमा तीनदिनसम्म वर्षा कायम रहने देखिन्छ,” मौसमविद् नगरकोटी भन्छिन्, “काठमाडौं उपत्यकामा पनि मनसुन सक्रिय नै रहने छ । यहाँ पनि कम्तीमा तीनदिनसम्म वर्षा हुने देखिएको छ ।” उनी वर्षासँग यसबाट आउने समस्याहरुबाट बच्च सतर्क हुन र पूर्वतयारी अपनाउन आग्रह पनि गर्छिन् ।
यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै वर्षा हुने विभागले बताउँदै बाढी तथा भू–क्षयबाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी अपनाउन विभागले सरोकारवाला निकायलाई सचेत गराइसकेको छ ।


