काठमाडौँ, मङ्सिर १७ (ई-रैवार)
शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको हो।
दिउँसो १ बजे हुने खेल ललितपुर डर्बी रहेको छ । त्यसमा थ्री स्टार फेरि लयमा फर्कने प्रयासमा हुनेछ । च्यासलविरुद्धको पहिलो खेल जितेर उत्साहित तीन पल्टको लिग च्याम्पियन थ्री स्टार आफ्नो दोस्रो खेलमा भने सातदोबाटोसँग पराजित रहेको थियो ।
यस्तोमा थ्री स्टारको तीन अंक छ । फ्रेन्ड्स भने एकै अंकमा सीमित छ । सातदोबाटोविरुद्धको आफ्नो पहिलो खेल गोलरहित बराबरी खेलेको फ्रेन्ड्स संकटाविरुद्धको दोस्रो खेलमा भने पराजित रहेको थियो ।
सातदोबाटो र एपीएफबीचको खेल भने साँझ ४।४५ मा सुरु हुनेछ । थ्री स्टारलाई पछिल्लो खेलमा हराएयता सातदोबाटो उत्साहित छ । उसको चार अंक छ ।एपीएफ भने रेलिगेसन क्षेत्रमा रहेको छ र अंकविहीन छ । एपीएफ सुरुआती दुवै खेलमा पराजित रहेको थियो । उसले बीबीसी र च्यासलविरुद्धको खेल गुमाएको थियो ।


