काठमाडौं, असार १३ (ई-रैवार)
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेसले महाधिवेशनबारे छलफल गर्न पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन। कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको बताईएको छ ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ ।
काग्रेस नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले उजुरीमाथि छानविन गरिरहेको छ । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने छ ।
समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न सकेको छैन ।
समितिले अति विवादित जिल्लाको हकमा पदाधिकारीलाई नै निर्णय गर्ने जिम्मा दिने तयारी गरेको छ । क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्य योगेन्द्र चौधरीले भने, ‘पुरानाको हकमा विवाद नभए पनि अन्य पार्टीबाट आएकाहरुको हकमा मापदण्ड कसरी निर्धारण गर्ने भन्ने समस्या छ ।’
यस सम्बन्धी मापदण्ड अब पदाधिकारीले नै टुङ्गो लगाउनुपर्ने बताउँदै चौधरीले भने, ‘पदाधिकारीहरुले मापदण्ड टुंगो लगाइदिनु भयो भने उहाँहरुले दिएको समयसीमा भित्र बाँकी काम सम्पन्न गर्न हामी सक्छौं । नत्र हामीलाई कठिन हुन्छ ।’
यसैबीच नेपाली कांग्रेसले थप ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ ।
भोजपुर, रुकुमपश्चिम, प्यूठान, धनुषा १, काभ्रे १ र सप्तरी क्षेत्र नं १, २, ३ र ४ का क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो ।
ती जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भएमा यही असार १७ गतेभित्र सप्रमाण पठाउन पनि कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसमा पुराना ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १४ औं महाधिवेशनमा शतप्रतिशत सदस्यता बढाउने निर्णयपछि कांग्रेसमा क्रियाशील सदस्यता झण्डै दश लाख पुग्ने अनुमान गरिएको छ ।


