काठमाडौँ, असार ७ (ई-रैवार)
नेपालमा आज थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको परीक्षण गर्दा २२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको छ भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ । देशभर पछिल्लो २४ घण्टामा ३१३० जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।


