कञ्चनपुर, भदौ २१ (ई-रैवार)
माहाकाली नगरपालिकामा स्क्रब टाइफसका ३ बिरामी भेटिएका छन । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा ३ जना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् ।
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले उच्च ज्वरो भएर उपचारका लागि आएका ११ जना बिरामीको परीक्षण गर्दा ३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जनाएको छ । हालसम्म उच्च ज्वरो भएका ५० भन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र तीमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर उपचारका लागि आएका ११ जना बिरामीको आरडीटी परीक्षण गर्दा ३ जनामा संक्रमण देखापरेको स्वास्थ्य केन्द्रका डा. गगन चौधरीले बताए । उनका अनुसार हालसम्म उच्च ज्वरो भएका ५० भन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र तीमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्यकर्मी परिचालन गरेर बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगत परीक्षणका लागि नमूना संकलन गरेको थियो । त्यसको नतिजा अहिलेसम्म आएको छैन ।
परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुका अनुसार संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने गर्छ ।
रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको डा चौधरीको भनाइ छ । किर्नाको टोकाइबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुपर्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने उनले बताए ।


